नेपालको बाजुरा जिल्लाको जिल्ला सदरमुकाम मार्तडीबाट करिब ७५ किमि टाढा उत्तर पूर्वी दिशामा रहेको हिमाली गाउँपालिकाको कूल क्षेत्रफल ८३०.३४ वर्ग किमि रहेको छ ।समुन्द्री सतहदेखि करिब १२०० मिटर देखि ६४०० मिटर सम्मको उचाईमा रहेको छ । गाउँपालिका भौगोगिक अवस्थितिका हिसाबले हेर्दा २९ डिग्री २८ मिनेट ५० सेकेन्ड देखि २९ डिग्री ५७मिनेट १० सेकेन्ड उत्तरी अक्षांश र ८१ डिग्री २९ मिनेट ४० सेकेन्ड देखि ८१ डिग्री ४७ मिनेट ४० सेकेन्ड पूर्वी देशान्तरमा फैलिएको छ | हिमाली गाउँपालिका नामाकरणको सन्दर्भमा यस क्षेत्रको केहि भूभाग हिमाली क्षेत्रमा समेत पर्ने हुनाले हिमाली गाउँपालिकाको रुपमा नामाकरण भएको देखिन्छ ।यस गाउँपालिका साविकको विच्छया, रुगिन र बाँधु (१-७ सम्म) गाविसलाई मिसाएर वि.सं. २०७३ मा गठन भएको । यस गाउँपालिकालाई ७ वडा वडाहरूमा विभाजन गरिएको छ । गाउँपालिकाको केन्द्र साविक बाधु गाविसको धुलाचौरमा रहेको छ|